काम नगर्ने जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्ने तयारी

User Image Prime TV News २ घण्टा अगाडि
Image of काम नगर्ने जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्ने तयारी

काठमाडौ । सरकारले लामो समयदेखि लाइसेन्स लिएर पनि काम सुरु नगर्ने जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्ने तयारी गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको समितिले १ हजार ३८८ मेगावाट क्षमताका ३८ जलविद्युत् आयोजनाको लाइसेन्स रद्द गर्न सिफारिस गरेको छ। यी आयोजनाले विद्युत् खरिद सम्झौता (पीपीए) गरे पनि लामो समयसम्म कुनै प्रगति गर्न सकेका छैनन्।

मन्त्रालयले आयोजनाको प्रगतिका आधारमा विभिन्न समूहमा वर्गीकरण गरेको छ। राम्रो प्रगति गरेका आयोजनालाई प्रोत्साहन गरिनेछ भने कमजोर प्रगति भएका आयोजनालाई सहजीकरण र निगरानी गरिनेछ।

तर १०–१२ वर्षदेखि लाइसेन्स लिएर पनि कुनै काम नगर्ने र सम्पर्कमा समेत नआएका आयोजनाको लाइसेन्स खारेज गरिने मन्त्रालयले जनाएको छ। सरकारले ‘लाइसेन्स राज’ अन्त्य गर्न पनि नयाँ व्यवस्था ल्याउने तयारी गरेको छ। अब लाइसेन्स लिएर काम नगरी बेच्ने प्रवृत्ति रोक्न कडा नियम बनाइनेछ।

ऊर्जा क्षेत्रका विज्ञहरूले भने लाइसेन्स खारेज गर्नु मात्र समाधान नभएको बताएका छन्। उनीहरूका अनुसार आयोजना रोकिनुका कारण पहिचान गरी समस्या समाधान गर्न पनि सरकारले ध्यान दिनुपर्छ। सरकारले भने निष्क्रिय आयोजनामाथि कारबाही गर्दै जलविद्युत् क्षेत्रलाई व्यवस्थित बनाउने तयारी गरेको जनाएको छ।