नेपाल–भारत सीमा सम्बन्धी छलफलका लागि भारतीय उच्चस्तरीय टोली कञ्चनपुरमा
Prime TV News ४ घण्टा अगाडि 
कञ्चनपुर । नेपाल–भारत सीमा क्षेत्रमा देखिएका विभिन्न विषयमा छलफल गर्न भारतीय उच्चस्तरीय टोली कञ्चनपुर पुगेको छ। दुवै देशका अधिकारीहरूबीच महेन्द्रनगरस्थित एक होटलमा सीमा सम्बन्धी विषयमा उच्चस्तरीय बैठक भइरहेको छ।
बैठकमा नेपाल र भारतका सुरक्षा निकाय तथा प्रशासनिक तहका अधिकारीहरूको सहभागिता रहेको जनाइएको छ। छलफलका क्रममा सीमा व्यवस्थापन, सुरक्षा अवस्था, सीमा नाकाबाट हुने आवतजावतको सहजता, सीमा स्तम्भहरूको संरक्षण तथा मर्मतसम्भार लगायतका विषयमा विचारविमर्श भइरहेको छ।
त्यसैगरी, सीमा क्षेत्रमा देखिएका विविध समस्या समाधान, आपसी समन्वय अभिवृद्धि तथा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषय पनि बैठकको मुख्य एजेन्डामा रहेको बताइएको छ। कंचनपुर जिल्ला र भारतसँग जोडिएको सीमा क्षेत्र विगतदेखि नै दुवै देशका लागि संवेदनशील तथा रणनीतिक महत्वको क्षेत्र मानिन्छ। सीमा व्यवस्थापन, सुरक्षा चुनौती तथा स्थानीय नागरिकको सहज आवागमनसँग सम्बन्धित विषयमा नियमित रूपमा दुई देशका अधिकारीहरूबीच छलफल हुँदै आएको छ।
यसपटकको बैठकले सीमा क्षेत्रमा देखिएका समसामयिक विषयमा साझा समझदारी कायम गर्न तथा समस्या समाधानका लागि आवश्यक समन्वयलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।







