न्याम्सद्वारा आवासीय चिकित्सकको ड्युटी व्यवस्थामा सुधार, २४ घण्टापछि अनिवार्य बिदा

User Image Prime TV News ४ घण्टा अगाडि
Image of न्याम्सद्वारा आवासीय चिकित्सकको ड्युटी व्यवस्थामा सुधार, २४ घण्टापछि अनिवार्य बिदा

काठमाडौ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) को ड्युटी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गर्दै २४ घण्टा ड्युटी पूरा भएपछि बिहानको राउण्ड सकेर अनिवार्य रूपमा बिदा दिन निर्देशन जारी गरेको छ।

सोमबार न्याम्सका सहायक डिन प्राडा विकासविक्रम सिंह अधिकारीले परिपत्र गर्दैले एमडी/एमएस/एमडिएस तथा डीएम/एमसीएच कार्यक्रमका संयोजकहरूलाई परिपत्र जारी गर्दै नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

परिपत्रमा २४ घण्टाको ड्युटीपछि बिहानको राउण्ड सम्पन्न भएपछि रेजिडेन्ट चिकित्सकलाई बिदा दिनुपर्ने उल्लेख गरिएको छ। यसअघि न्याम्सअन्तर्गत अध्ययनरत आवासीय चिकित्सकहरूले लगातार ३६ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था रहेको थियो।

लामो समयसम्म निरन्तर काम गर्नुपर्दा चिकित्सकहरू शारीरिक थकानसँगै मानसिक तनावमा रहने गरेको गुनासो उठ्दै आएको थियो। नयाँ व्यवस्थाले उनीहरूको कार्यबोझ घट्नुका साथै सेवा प्रवाहको गुणस्तर र चिकित्सकको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यसअघि नेपाल मेडिकल काउन्सीलले पनि आवासीय चिकित्सकमाथि अत्यधिक कार्यबोझ रहेको निष्कर्षसहित मेडिकल कलेज, प्रतिष्ठान र विश्वविद्यालयहरूलाई पर्याप्त विश्रामको व्यवस्था गर्न निर्देशन दिएको थियो।