मन्त्रीहरूको अभिव्यक्तिप्रति विश्वप्रकाश शर्माको टिप्पणी, प्रधानमन्त्रीलाई बोलीमा संयम अपनाउन सुझाव

User Image Prime TV News ४ घण्टा अगाडि
Image of मन्त्रीहरूको अभिव्यक्तिप्रति विश्वप्रकाश शर्माको टिप्पणी, प्रधानमन्त्रीलाई बोलीमा संयम अपनाउन सुझाव

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम आवश्यक रहेको भन्दै प्रधानमन्त्री बालेन शाहलाई आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाव दिएका छन्।

हालै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले धादिङमा सडक अनुगमनका क्रममा काममा ढिलाइ गर्ने ठेकेदारको “खुट्टा भाँचिदिनू” भन्ने अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि त्यसबारे प्रतिक्रिया जनाउँदै शर्माले भिडियो सन्देश जारी गरेका हुन्।

शर्माले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अभिव्यक्ति जिम्मेवार र मर्यादित हुनुपर्ने उल्लेख गर्दै यस्ता अभिव्यक्तिले समाजमा गलत सन्देश जाने तर्क गरेका छन्। “हामी यस्तै समाजतर्फ जाँदैछौँ ? यदि जाँदै छैनौँ भने कम्तीमा आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्,” उनले सन्देशमा भनेका छन्।

उनले निर्वाचनका बेला वर्तमान प्रधानमन्त्रीले समेत केही विषयमा आक्रामक शैलीका अभिव्यक्ति दिएको प्रसंग स्मरण गर्दै अहिले सरकार सञ्चालनको जिम्मेवारीमा रहेका व्यक्तिहरूले कानुनी शासन, विधि र लोकतान्त्रिक मूल्यअनुसार बोल्नुपर्ने धारणा राखेका छन्।

पूर्वाधार मन्त्री लम्सालको अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक वृत्तमा त्यसबारे बहस भइरहेको छ। केहीले उक्त भनाइलाई काममा ढिलासुस्तीप्रति असन्तुष्टिको अभिव्यक्ति भनेका छन् भने आलोचकहरूले सार्वजनिक पदमा बसेका व्यक्तिबाट हिंसात्मक भाषाको प्रयोग स्वीकार्य नहुने बताएका छन्।

शर्माको टिप्पणीसँगै मन्त्रीहरूको सार्वजनिक अभिव्यक्ति र राजनीतिक नेतृत्वको जिम्मेवारीबारे बहस थप चर्किएको छ।