मधेश प्रदेशको बजेट ४१ अर्ब १३ करोड, कृषि–शिक्षा–पूर्वाधारलाई प्राथमिकता (पूर्णपाठ सहित)

User Image Prime TV News ४ घण्टा अगाडि
Image of मधेश प्रदेशको बजेट ४१ अर्ब १३ करोड, कृषि–शिक्षा–पूर्वाधारलाई प्राथमिकता (पूर्णपाठ सहित)

काठमाडौ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा वन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका हुन्। प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ छुट्याइएको छ। कुल बजेटमध्ये चालु खर्च ३५.६४ प्रतिशत र पुँजीगत खर्च ६४.३५ प्रतिशत रहेको छ।

बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेशको आन्तरिक राजस्व तथा अन्य आन्तरिक स्रोतबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ जुटाइने अनुमान गरिएको छ। यस्तै संघीय सरकारबाट राजस्व बाँडफाँटअन्तर्गत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रदेश सरकारले संघीय सरकारबाट विभिन्न शीर्षकमा १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरेको छ। यसमध्ये वित्तीय समानीकरण अनुदान ७ अर्ब ८४ करोड ८५ लाख, सशर्त अनुदान ८ अर्ब १० करोड २८ लाख, समपूरक अनुदान ९४ करोड ७४ लाख तथा विशेष समपूरक अनुदान ७० करोड रुपैयाँ रहने उल्लेख गरिएको छ।

चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ उपयोग गरिने तथा १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणमार्फत जुटाइने बजेटमा उल्लेख छ। प्रदेश सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक सेवा सुदृढीकरण तथा भौतिक पूर्वाधार विस्तारलाई केन्द्रमा राखेर बजेट ल्याएको जनाएको छ।

बजेट कार्यान्वयनको प्रभावकारिता र पुँजीगत खर्चको वास्तविक उपलब्धि भने आगामी आर्थिक वर्षको प्रमुख चुनौतीका रूपमा रहने देखिएको छ।