राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने तयारी, आवश्यक कानुन निर्माणमा सरकार

User Image Prime TV News ३ घण्टा अगाडि
Image of राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने तयारी, आवश्यक कानुन निर्माणमा सरकार

काठमाडौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको, बहुउपयोगी र थप विश्वसनीय संस्थाका रूपमा विकास गर्न आवश्यक कानुन निर्माणको प्रयास भइरहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विधेयकमाथि भएको छलफलका क्रममा मन्त्री पुनले नेपालमा विभिन्न प्रकारका प्रयोगशाला सञ्चालनमा रहे पनि राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको विशिष्ट भूमिका र महत्वलाई ध्यानमा राखेर नयाँ कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिए।

उनले विधेयकलाई प्रभावकारी बनाउन विज्ञहरूबाट प्राप्त सुझाव महत्वपूर्ण हुने उल्लेख गर्दै हाल सञ्चालनमा रहेका प्रयोगशालाहरूलाई पनि सुदृढ बनाउने सरकारको नीति रहेको बताए। तर प्रस्तुत विधेयक मुख्य रूपमा राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको कार्यक्षेत्र, संरचना र सञ्चालन व्यवस्थालाई केन्द्रित गरेर तयार गरिएको उनको भनाइ थियो।

मन्त्री पुनले वैज्ञानिक अनुसन्धान, अपराध अनुसन्धान तथा न्यायिक प्रक्रियामा प्रयोगशालाको भूमिका दिनप्रतिदिन बढ्दै गएकाले यसको विश्वसनीयता र गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न आवश्यक रहेको बताए।

बैठकमा सहभागी विज्ञहरूले पनि राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई गुणस्तरीय, आधुनिक र विश्वसनीय बनाउन सक्ने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले प्रयोगशालाले संवेदनशील र गोप्य प्रकृतिका प्रमाण तथा तथ्याङ्कसँग काम गर्ने भएकाले गोपनीयता, सुरक्षा र डेटा संरक्षणसम्बन्धी स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखे।

विज्ञहरूको सुझावलाई समेट्दै विधेयकलाई परिमार्जन गरिने अपेक्षा गरिएको छ। सरकारको लक्ष्य राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई अनुसन्धान, प्रमाण परीक्षण र न्यायिक सहायताको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको संस्थाका रूपमा स्थापित गर्नु रहेको बताइएको छ।