पोल नसारिएको विषयमा मन्त्री लम्सालले दिए “खुट्टा भाँच्ने” विवादास्पद अभिव्यक्ति, भिडियो सामाजिक सञ्जालमा भाइरल
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा विधुतका पोल सार्ने काममा ढिलाइ भएको भन्दै सम्बन्धित ठेकेदारविरुद्ध दिएको अभिव्यक्ति विवादमा परेको छ। आइतबार सडक अनुगमनका क्रममा उनले ठेकेदारको “खुट्टा भाँच्ने” सम्मको अभिव्यक्ति दिएका भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।
नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाको प्रगति बुझ्न धादिङ पुगेका मन्त्री लम्सालले नौबिसे–मलेखु खण्डको निरीक्षण गर्ने क्रममा सडक निर्माणमा अवरोध बनेका विद्युत्का पोलबारे चासो व्यक्त गरेका थिए। सो क्रममा आयोजना अधिकारी तथा ठेकेदारका प्रतिनिधिहरूले पोल सार्ने जिम्मा पाएको कम्पनीले काममा ढिलाइ गर्दा सडक निर्माण प्रभावित भएको जानकारी गराएका थिए।
त्यसपछि मन्त्री लम्सालले सम्बन्धित ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे “खुट्टा भाँचिदिने” अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको हो। उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै प्रतिक्रिया देखिएका छन्।
पोल सार्ने जिम्मा सोहन कन्स्ट्रक्सनलाई
नेपाल विद्युत् प्राधिकरणले नौबिसे–मलेखु सडकखण्डको पूर्वी भागमा रहेका विद्युत्का पोल स्थानान्तरण गर्ने जिम्मा सोहन कन्स्ट्रक्सनलाई दिएको छ। आयोजना स्रोतका अनुसार आदमघाटदेखि मलेखुसम्म करिब ७४ वटा पोल स्थानान्तरण गर्न बाँकी छन्। केही स्थानमा नयाँ पोल जडान गरिए पनि पुराना पोलबाट अझै विद्युत् प्रवाह भइरहेकाले निर्माण कार्यमा समस्या भइरहेको बताइएको छ।
आयोजनाका एक कर्मचारीका अनुसार पोल नसारिँदा निर्माण उपकरण सञ्चालन र सडक विस्तारको काम प्रभावित भएको छ। “करेन्ट प्रवाह भइरहेका पोलका कारण दुर्घटनाको जोखिम पनि छ। यही अवस्थाले मन्त्रीलाई आक्रोशित बनाएको हुन सक्छ,” उनले भने।
करोडौँ खर्च, तर काम सुस्त
नागढुंगा–मुग्लिन सडकखण्डमा विद्युत्का पोल स्थानान्तरणका लागि १२ करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको छ। पूर्वी खण्डमा मात्रै ६ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ। आयोजना कार्यालयले यसमध्ये करिब ५ करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गरिसकेको जनाएको छ।
आयोजना पक्षका अनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि बाँकी रकम पनि भुक्तानी गरिनेछ। तर पोल स्थानान्तरणमा भएको ढिलाइका कारण सडक विस्तारको काम प्रभावित भइरहेको छ।
‘जनताले धेरै दुःख पाए’
अनुगमनपछि मन्त्री लम्सालले पोल छिटो सार्नुपर्नेमा जोड दिँदै स्थानीय जनताले लामो समयदेखि सास्ती खेप्नुपरेको बताए। सार्वजनिक भिडियोमा उनले “यहाँका जनताले धेरै दुःख पाए, त्यसैले काम छिटो गराउनुपर्छ” भनेको सुनिन्छ।
यसैबीच, आइतबार प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा “देश बनाउने टोली” भन्ने क्याप्सनसहित मन्त्री लम्साल र गृहमन्त्री सुधन गुरुङसँगको तस्वीर सार्वजनिक गरेका थिए। मन्त्री लम्सालको विवादास्पद अभिव्यक्तिपछि उक्त तस्वीरसमेत चर्चाको विषय बनेको छ।







