सीमा विवाद र प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसको प्रश्न, सरकारसँग जवाफ माग

User Image Prime TV News ६ घण्टा अगाडि
Image of सीमा विवाद र प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसको प्रश्न, सरकारसँग जवाफ माग

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति र नेपाल–भारत सीमा क्षेत्रमा भइरहेका गतिविधिबारे सरकारसँग स्पष्ट जवाफ माग गरेको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले भारतसँगको सीमा विवाद, पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सक्रियता तथा सरकारको भूमिकामाथि प्रश्न उठाइन्।

प्रधानमन्त्रीले संसदमै “हामीले पनि भारतको सीमा मिचेका छौँ” भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले उक्त विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ आउनुपर्ने बताइन्। “सुस्तामा पटक–पटक भारतीय एसएसबी आएर नेपाली नागरिकलाई त्रसित बनाइरहेको अवस्थामा सरकार किन मौन छ ?” भन्दै उनले प्रश्न गरिन्।

काउचाले जेठ १७ र २९ गते सुस्ता क्षेत्रमा भारतीय एसएसबी प्रवेश गरेको दाबी गर्दै सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले राज्यबाट आवश्यक संरक्षण र भरोसा पाउन नसकेको आरोप लगाइन्। प्रधानमन्त्रीको अभिव्यक्तिलाई संकेत गर्दै उनले “प्रधानमन्त्रीले मिचिएको सीमा खोज्न एसएसबी आएको हो कि ?” भन्दै व्यङ्ग्यसमेत गरिन्।

सांसद काउचाले सीमा सुरक्षाको विषयसँगै सरकारले विभिन्न छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरेको आरोप पनि लगाइन्। गत भदौ २३ र २४ गते भएको आन्दोलनका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले बुझाएको प्रतिवेदन तथा गृहमन्त्री सुदन किराँतीको सम्पत्ति विवादबारे गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न उनले माग गरिन्।

“छानबिन समिति गठन गर्ने, प्रतिवेदन बुझ्ने तर सार्वजनिक नगर्ने, अनि सम्बन्धित व्यक्तिलाई पुनः मन्त्री बनाउने ? प्रतिवेदनमा के छ भन्ने कुरा नेपाली जनताले थाहा पाउनुपर्दैन ?” भन्दै उनले सरकारको पारदर्शितामाथि प्रश्न उठाइन्।

कांग्रेसले सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र सुशासनसँग सम्बन्धित विषयमा सरकार गम्भीर हुनुपर्ने तथा संसदमा उठेका प्रश्नको यथाशीघ्र जवाफ दिनुपर्ने माग गरेको छ।