सभामुखलाई हर्क साम्पाङको प्रश्नः प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति कहिले अभिलेखबाट हट्छ ?

User Image Prime TV News ६ घण्टा अगाडि
Image of सभामुखलाई हर्क साम्पाङको प्रश्नः प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति कहिले अभिलेखबाट हट्छ ?

काठमाडौ । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति कहिले अभिलेखबाट हटाइन्छ भन्ने विषयमा सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे सभामुखले आवश्यक निर्णय गर्ने अपेक्षा आफूले राखेको बताए। उनले सभामुखले उक्त अभिव्यक्ति हटाउन आदेश दिनुहुने विश्वास रहेको उल्लेख गर्दै त्यसको प्रतीक्षामा रहेको धारणा व्यक्त गरे।

राईले प्रधानमन्त्री स्वयं पनि संसदमा उपस्थित भई उठेका प्रश्नहरूको जवाफ दिने आशा व्यक्त गरे।

बैठकमा उनले सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का गतिविधिले स्थानीय बासिन्दा त्रसित बनेको दाबी गर्दै त्यसको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका युवाहरूलाई पक्राउ गरिएको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराए। विरोध प्रदर्शनमा सहभागी युवामाथि मुद्दा दायर गर्ने तयारी भएको भन्दै उनले त्यसप्रति असन्तुष्टि जनाए।

त्यसैगरी, उनले विद्यालयमा विद्यार्थीहरूको मोबाइल फोन खोसेर पानीमा डुबाएर नष्ट गरिएको घटनामा संलग्न व्यक्तिलाई सचेत गराउन तथा आवश्यक कारबाही गर्न माग गरे। कैलालीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनामा पनि दोषीमाथि कडा कारबाही हुनुपर्ने उनको भनाइ थियो।

राईले संसदमा उठाएका विषयहरू राष्ट्रिय स्वाभिमान, नागरिक अधिकार र सार्वजनिक जवाफदेहितासँग जोडिएका भएकाले सम्बन्धित निकायले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन्।