अर्थमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदमा जवाफ माग

User Image Prime TV News ६ घण्टा अगाडि
Image of अर्थमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदमा जवाफ माग

काठमाडौ । नेकपा एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रश्न उठाउने सांसदहरूलाई लक्षित गर्दै ‘फाइल खोल्ने’ शैलीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्पष्ट जवाफ माग गरेको छ।

आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै समय लिएर बोल्दै एमाले संसदीय दलकी प्रमुख सचेतक पद्मा अर्यालले अर्थमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताइन्। बजेटमाथिको छलफलका क्रममा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्रीले विपक्षी दलका सांसद तथा पुराना राजनीतिक दलका नेताहरूका विगतका काण्डबारे आफू जानकार रहेको संकेत गरेका थिए।

विशेषगरी करका दर हेरफेरको विषयमा उठाइएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गत जेठ २८ गते, “तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ हो र ?” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई लिएर एमालेले संसदमा आपत्ति जनाएको हो।

अर्यालले अर्थमन्त्रीको भनाइ कसलाई लक्षित गरेर आएको हो भन्ने स्पष्ट पार्न माग गर्दै ‘फाइल खोल्ने’ धम्कीको शैली स्वीकार्य नहुने बताइन्। उनले यदि कुनै अनियमितता वा भ्रष्टाचारसम्बन्धी तथ्य छन् भने ती सार्वजनिक गर्न सरकारलाई आग्रह गरिन्। “टी–स्टेटको फाइल खोलियोस्, ओम्नी होस्, वाइडबडी होस् वा अन्य कुनै विषय होस्, सत्यतथ्य बाहिर ल्याइनुपर्छ,” उनले भनिन्।

अर्यालले छानबिनबाट आरोप प्रमाणित भए दोषीमाथि कारबाही हुनुपर्ने र आरोप पुष्टि हुन नसके गम्भीर आरोप लगाउनेहरू पनि कानुनी जवाफदेहिताबाट उम्किन नहुने धारणा व्यक्त गरिन्।