टेम्पो भिरबाट खसालेको घटनाबारे छानबिन समिति गठन

User Image Prime TV News ७ घण्टा अगाडि
Image of टेम्पो भिरबाट खसालेको घटनाबारे छानबिन समिति गठन

धनगढी। कैलालीमा वन अतिक्रमण हटाउने क्रममा एक टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ।

मन्त्रीस्तरीय निर्णयबाट गठन गरिएको समितिको संयोजकमा प्रदेश वन निर्देशक हेमराज विष्ट रहेका छन्। समितिमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।

मन्त्रालयले समितिलाई घटनाको विस्तृत अध्ययन गरी आवश्यक छानबिन गर्न तथा सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको जनाएको छ। गत २९ जेठमा कैलालीको गोदावरी नगरपालिका–४ बासपानी निवासी धनादेवी धामीको टेम्पो वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट खसालिएको थियो।

उक्त घटनाको भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो। घटनामा संलग्न रहेको आरोपमा वन कार्यालयका १२ कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। छानबिन समितिको प्रतिवेदनपछि घटनामा संलग्न व्यक्ति तथा निकायको जिम्मेवारी निर्धारण हुने अपेक्षा गरिएको छ।

यस घटनाले वन अतिक्रमण हटाउने कार्यका क्रममा अपनाइने प्रक्रिया, सरकारी निकायको जिम्मेवारी तथा नागरिकको सम्पत्तिको सुरक्षाबारे प्रश्न उठाएको छ। प्रदेश सरकारले सत्यतथ्य पत्ता लगाई आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।