आज सबै प्रदेश सरकारले नयाँ बजेट ल्याउँदै, कार्यान्वयन योग्य योजनामा जोड
Prime TV News ९ घण्टा अगाडि 
काठमाडौ । आज सबै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन्। प्रदेश सरकारहरूले प्रदेश सभा बैठकमार्फत आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने तयारी गरेका छन्।
अघिल्ला वर्षमा ठूलो आकारका बजेट घोषणा भए पनि धेरै योजना कार्यान्वयन हुन नसकेको भन्दै यस वर्ष भने व्यवहारिक र कार्यान्वयन गर्न सकिने बजेटमा जोड दिइएको जनाइएको छ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरूले सम्बन्धित प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएपछि बजेट ल्याउने संवैधानिक व्यवस्था रहेको छ।
कार्यतालिका अनुसार मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ। कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट ल्याउने तयारी गरेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेश सरकारले दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट प्रस्तुत गर्ने तालिका सार्वजनिक गरेका छन्।
प्रदेश सरकारहरूले यस वर्ष रोजगारी, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट ल्याउने अपेक्षा गरिएको छ।







