प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने
Prime TV News ८ घण्टा अगाडि 
काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा सुरु हुने कार्यसूची रहेको छ।
आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल गरिनेछ। सांसदहरूले मन्त्रालयगत रूपमा बजेटका कार्यक्रम, योजना र खर्च प्रस्तावबारे धारणा राख्नेछन्।
आज युवा तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने तय भएको छ।
सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गरेको थियो। प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफल यसअघि नै सम्पन्न भइसकेको छ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूको प्रश्नको जवाफ पनि दिइ सकेका छन् ।
अब मन्त्रालयगत छलफलपछि बजेट पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।







