जर्मनीको शानदार सुरुआत, कुराकाओमाथि ७–१ को फराकिलो जित

User Image Prime TV News ९ घण्टा अगाडि
Image of जर्मनीको शानदार सुरुआत, कुराकाओमाथि ७–१ को फराकिलो जित

काठमाडौ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आज भएको खेलमा चारपटकको विश्वकप विजेता जर्मनीले शानदार जित निकालेको छ।

समूह ‘ई’ अन्तर्गत अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा जर्मनीले कुराकाओलाई ७–१ गोलअन्तरले हराएको हो। जर्मनीले खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गर्‍यो।

खेलको छैटौँ मिनेटमा फेलिक्स एनमेचाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर २१औँ मिनेटमा कुराकाओका लिभानो कोमेनेन्सियाले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए।

त्यसपछि जर्मनीले लगातार दबाब बनायो। ३८औँ मिनेटमा निको स्लोटरबेकले गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त समयमा काई हाभाट्र्जले पेनाल्टीमार्फत गोल गरेपछि जर्मनीले पहिलो हाफ ३–१ ले आफ्नो पक्षमा टुङ्ग्यायो।

दोस्रो हाफमा पनि जर्मनी रोकिएन। ४७औँ मिनेटमा जमाल मुसिएलाले गोल गरे। त्यसपछि ६८औँ मिनेटमा नाथनियल ब्राउन र ७८औँ मिनेटमा डेनिज उन्डाभले गोल थपे। खेलको ८८औँ मिनेटमा हाभाट्र्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको जितलाई ७–१ मा पुर्‍याए।

यस जितसँगै जर्मनीले प्रतियोगितामा सुखद सुरुआत गर्दै समूह ‘ई’ मा महत्वपूर्ण तीन अंक जोडेको छ।