अमेरिका–इरान युद्धविराम घोषणा, स्ट्रेट अफ होर्मुजबाट जहाज सञ्चालन पुनः सुरु हुने

User Image Prime TV News ९ घण्टा अगाडि
Image of अमेरिका–इरान युद्धविराम घोषणा, स्ट्रेट अफ होर्मुजबाट जहाज सञ्चालन पुनः सुरु हुने

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविराम सम्झौता भएको घोषणा गरेका छन्। उनले सम्झौतापछि विश्व व्यापारका लागि महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजबाट जहाज सञ्चालन पुनः सुरु हुने बताएका छन्।

ट्रम्पका अनुसार दुवै देशबीच जारी सैन्य गतिविधि तत्काल अन्त्य गरिनेछ। साथै अमेरिकी नौसैनिक नाकाबन्दी हटाइने र तेल ढुवानीलाई सामान्य अवस्थामा फर्काइने तयारी गरिएको छ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पनि सामाजिक सञ्जालमार्फत अमेरिका र इरानबीच शान्ति सम्झौता भएको जानकारी दिएका थिए। उनका अनुसार सम्झौताले इरानसँग सम्बन्धित अन्य क्षेत्रीय तनाव कम गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्झौतामा औपचारिक हस्ताक्षर आगामी १९ जुनमा स्वीट्जरल्यान्डमा हुने बताइएको छ। यस प्रक्रियामा कतार, साउदी अरब र टर्कियेले मध्यस्थकर्ताको भूमिका खेलेका छन्।

कतारले यो सम्झौताले मध्यपूर्व क्षेत्रमा शान्ति कायम गर्न र अन्तर्राष्ट्रिय आर्थिक गतिविधिलाई सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।