विदेशमा रहेका नेपालीलाई स्वदेशको विकासमा जोडिन परराष्ट्र मन्त्री खनालको आह्वान
Prime TV News २३ घण्टा अगाडि 
काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले चीनमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र पेशाकर्मीलाई आफूले हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालको विकासमा प्रयोग गर्न आग्रह गरेका छन्।
चीनस्थित नेपाली समुदायसँगको भेटघाट कार्यक्रममा उनले विदेशमा आर्जित दक्षता देशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण हुने बताए। नेपालले अहिले सुशासन र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले विदेशमा रहेका नेपालीको सहयोग र सुझाव आवश्यक रहेको उल्लेख गरे।
उनले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा आर्थिक गतिविधि विस्तारका लागि सरकारले विभिन्न कदम चालिरहेको जानकारी दिए। विदेशमा रहेका नेपालीलाई सहज सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमा पनि सुधारका काम अघि बढाइएको उनको भनाइ थियो।
मन्त्री खनालले युवाको बढ्दो विदेश पलायन चुनौतीपूर्ण विषय बनेको उल्लेख गर्दै देशभित्र पर्याप्त रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए। नेपालमा हरेक वर्ष ठूलो संख्यामा रोजगारी आवश्यक भए पनि हालको सिर्जना दर पर्याप्त नरहेको उनले बताए।
नेपाल–चीन व्यापार सम्बन्धलाई थप सन्तुलित बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी, प्रविधि र ज्ञान हस्तान्तरण आवश्यक रहेको उनको धारणा थियो। चीनमा बसेर अध्ययन र काम गरिरहेका नेपालीले सिकेको अनुभवलाई स्वदेशमा उद्योग, व्यवसाय र उत्पादन वृद्धि गर्न उपयोग गर्न सकिने उनले बताए।
देशको विकासका लागि विदेशमा रहेका नेपालीलाई योगदान गर्ने वातावरण बनाउन सरकार तयार रहेको उल्लेख गर्दै उनले स्वदेश फर्केर वा विदेशमै बसेर पनि राष्ट्र निर्माणमा सहकार्य गर्न आग्रह गरे।







