निहित स्वार्थ समूहको प्रभाव तोड्दै सरकार : अर्थमन्त्री वाग्ले

User Image Prime TV News एक दिन अगाडि
Image of निहित स्वार्थ समूहको प्रभाव तोड्दै सरकार : अर्थमन्त्री वाग्ले

काठमाडौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा लामो समयदेखि निहित स्वार्थ समूहहरूको प्रभाव रहेको बताउँदै सरकारले त्यसलाई अन्त्य गर्ने काम गरिरहेको बताएका छन्।

आइतबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगत १०–१५ वर्षमा केही स्वार्थ समूहहरूले राजनीति र राज्यका विभिन्न निकायहरूमा प्रभाव जमाएको दाबी गरे। अहिले ती गतिविधिबारे तथ्यहरू बाहिर आउन थालेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालासम्बन्धी मुद्दा न्यायिक प्रक्रियामा रहेको पनि बताए। उक्त मुद्दामा एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग गरिएको उनले जानकारी दिए। सरकारले देशको अर्थतन्त्र र प्रशासनमा देखिएका बेथितिहरू हटाउन सुधार अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ।

उनले युवाहरूलाई विदेश जानुपर्ने बाध्यता कम गर्दै देशमै अवसर सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए। उनले युवाहरूलाई देश निर्माणको अभियानमा सहभागी हुन आग्रह गर्दै सुधारका लागि सुझाव दिन पनि आह्वान गरे। “देशमा केही हुँदैन भन्ने सोच बदल्न आवश्यक छ,” उनले भने।

उनका अनुसार सुशासन र आर्थिक समृद्धिको आधार तयार गर्न सरकारले पाँच वर्षे रोडम्यापका आधारमा काम गरिरहेको छ।