कांग्रेसमा निरंकुशता बढ्दै गएको डा. शेखर कोइरालाको आरोप

User Image Prime TV News एक दिन अगाडि
Image of कांग्रेसमा निरंकुशता बढ्दै गएको डा. शेखर कोइरालाको आरोप

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस भित्र निरंकुश प्रवृत्ति बढ्न थालेको आरोप लगाएका छन्।

विराटनगरमा आयोजित संस्थापन इतर पक्षको एकता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसको स्थापना लोकतन्त्रका लागि भएको स्मरण गराउँदै अहिले पार्टीभित्र वडाध्यक्षहरूलाई मौखिक रूपमा हटाउने काम भइरहेको बताए।

“कांग्रेसको जन्म लोकतन्त्र स्थापना र निरंकुशताको अन्त्यका लागि भएको हो। तर अहिले वडाका सभापतिहरूलाई अद्यावधिक गर्न नमानेको भन्दै हटाइँदैछ, यो निरंकुशताको सुरुवात हो,” उनले भने। कोइरालाले पार्टीभित्र सहमति, सहकार्य र एकता आवश्यक रहेको बताउँदै सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने धारणा राखे।

उनले कांग्रेस कमजोर हुँदा लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा समेत असर पर्ने उल्लेख गरे । उनले सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र टिप्पणीको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे। साथै, पार्टीभित्र देखिएका समस्याको समाधानका लागि आफूले पाँच बुँदे प्रस्ताव पेश गरेको भए पनि एक महिनासम्म त्यसमा कुनै ठोस निष्कर्ष ननिस्किएको गुनासो गरे।

कोइरालाले वर्तमान अवस्थामै कांग्रेस अगाडि बढ्न नसक्ने उल्लेख गर्दै पार्टीभित्र संवाद, सहमति र एकताको वातावरण निर्माण गर्न नेतृत्व गम्भीर हुनुपर्ने बताए।