कांग्रेस कमजोर अवस्थामा पुगेको भन्दै सशांक कोइरालाले गरे एकताको आह्वान

User Image Prime TV News एक दिन अगाडि
Image of कांग्रेस कमजोर अवस्थामा पुगेको भन्दै सशांक कोइरालाले गरे एकताको आह्वान

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस हाल अत्यन्त कमजोर अवस्थामा पुगेको भन्दै पार्टी एकता अपरिहार्य भएको बताएका छन्।

शेखर कोइराला पक्षले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले पार्टी विभाजित अवस्थामा रहेकाले एक मात्र विकल्प एकता रहेको धारणा राखे। उनले दुवै पक्ष मिलेर पार्टीलाई पुनः एकताबद्ध बनाउनुपर्नेमा जोड दिए।

लामो समयपछि कोइराला निवास पुगेको स्मरण गर्दै उनले बीपी कोइरालाले जनताका लागि राजनीति गरेको उल्लेख गरे। “बीपीले आफ्नो लागि होइन, जनताका लागि पार्टी बनाउनुभएको हो,” उनले भने, अहिलेको नेतृत्वले त्यस भावनाबाट टाढा गएको टिप्पणी गरे।

उनले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा देशले विकास र परिवर्तनको महत्वपूर्ण चरण पार गरेको दाबी गर्दै अहिले पार्टी नेतृत्वमा कमजोरी देखिएको बताए। गगनकुमार थापा को कार्यशैलीप्रति संकेत गर्दै उनले सबै नेताहरूलाई समेटेर मात्र पार्टी चल्न सक्ने स्पष्ट पारे। “सबैलाई पन्छाएर एक्लै हिँड्ने प्रयास भ्रम मात्र हो,” उनको भनाइ थियो।

कोइरालाले पार्टीभित्रको आन्तरिक कलहलाई दुर्भाग्यपूर्ण भन्दै यसले लोकतन्त्र र देश दुवैलाई असर पारेको बताए। उनले गाउँ–गाउँमा अझै कांग्रेसको जनसमर्थन भए पनि एकता नहुँदा परिणाम कमजोर आएको दाबी गरे।

साथै, उनले संविधान र राष्ट्रको भविष्य सुरक्षित गर्न कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए।