नेपाली चिया निर्यातमा अवरोध हटाउन सांसद नेम्वाङको सरकारलाई आग्रह
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपाली चिया निर्यातमा भारततर्फ देखिएको अवरोध तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्। उनले यस विषयलाई उच्च प्राथमिकतामा राख्दै कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनका अनुसार इलामको सूर्योदय नगरपालिका क्षेत्रमा रहेका ५३ वटा चिया उद्योग भोलिदेखि कारखाना बन्द गर्ने निर्णयमा पुगेका छन्, जसले किसान र उद्योग दुवैमा गम्भीर असर पर्ने देखिएको छ। सांसद नेम्वाङले चिया केवल व्यापारिक बाली मात्र नभई किसानको जीवनयापनसँग जोडिएको महत्वपूर्ण स्रोत भएको बताएका छन्। उनले भने, “चिया घरको चुलो बाल्ने, छोराछोरी पढाउने र स्वास्थ्य उपचार गर्ने आधार हो।”
उनले भारतको गुणस्तर परीक्षण प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य र समयबद्ध हुनुपर्नेमा जोड दिएका छन्। चिया निर्यातमा ढिलाइ हुँदा किसानको वर्षभरको श्रम, उद्योगको लगानी र हजारौँ श्रमिकको रोजगारी जोखिममा परेको उनको भनाइ छ।
नेम्वाङले सरकारसँग ५ बुँदे माग पनि अघि सारेका छन्। जसमा प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासमार्फत रोकिएको चिया निकासी खुलाउन तत्काल पहल गर्ने, भारतीय गोदाममा रोकिएको चिया छिटो परीक्षण गरी बिक्री अनुमति दिने व्यवस्था मिलाउने र दुवै देशबीच प्रयोगशाला प्रमाणपत्रको पारस्परिक मान्यता कायम गर्ने विषय समावेश छन्।
त्यसैगरी उनले प्रभावित उद्योग र किसानका लागि सहुलियतपूर्ण कर्जा, ब्याज राहत र भण्डारण सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन्। साथै पूर्वी नेपालमा अन्तर्राष्ट्रिय स्तरको चिया परीक्षण प्रयोगशाला स्थापना र चीन, युरोप तथा पाकिस्तान जस्ता वैकल्पिक बजार विस्तार गर्न पनि सरकारलाई आग्रह गरेका छन्।







