ओलीको शपथ विवादसम्बन्धी रिट सर्वोच्चद्वारा खारेज

User Image Prime TV News एक दिन अगाडि
Image of ओलीको शपथ विवादसम्बन्धी रिट सर्वोच्चद्वारा खारेज

काठमाडौ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिँदा “प्रतिज्ञा गर्दछु” भन्ने वाक्यांश नपढेको विषयमा दायर रिटहरू सर्वोच्च अदालतले खारेज गरेको छ।

०७८ वैशाख ३१ गते शपथ ग्रहणका क्रममा ओलीले “प्रतिज्ञा गर्दछु” भन्ने शब्द नबोली “त्यो पर्दैन” भनेको विषय विवादमा आएको थियो। त्यतिबेला राष्ट्रपतिका रूपमा रहेकी विद्यादेवी भण्डारीले उक्त शब्द दोहोर्‍याउँदा पनि प्रधानमन्त्रीले उच्चारण नगरेको भन्दै आलोचना भएको थियो।

उक्त घटनालाई लिएर संविधानको धारा ८० अनुसार शपथको पूर्ण पालना नभएको जिकिर गर्दै सात वटा रिट दायर गरिएको थियो। निवेदकहरूले शपथ बदर गरी पुनः कानुनी ढाँचाअनुसार गराउन माग गरेका थिए।

तर न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिटको औचित्य समाप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको हो। निवेदक पक्षका अनुसार रिट खारेज भए पनि केही “निर्देशनात्मक” पक्ष भने उल्लेख भएको दाबी गरिएको छ। वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले भविष्यमा यस्तो विषयमा मार्गदर्शन हुने सम्भावना अझै रहेको प्रतिक्रिया दिएका छन्।

त्यस विवादपछि सरकारले पछि “शपथसम्बन्धी अध्यादेश, २०७८” ल्याएको थियो, जसअनुसार शपथको ढाँचामा परिवर्तन गरी “प्रतिज्ञा गर्दछु” भन्ने शब्द हटाइएको र शपथ लिने क्रममा “ईश्वरको/देश र जनताको नाममा” भन्ने विकल्प समावेश गरिएको थियो।