काठमाडौ महानगरको नीति तथा कार्यक्रम: युवा र लक्षित वर्ग केन्द्रित योजना

User Image Prime TV News एक दिन अगाडि
Image of काठमाडौ महानगरको नीति तथा कार्यक्रम: युवा र लक्षित वर्ग केन्द्रित योजना

काठमाडौ । काठमाडौ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि युवा, उद्यमशीलता र सामाजिक समावेशीकरण केन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहुलियतपूर्ण कर्जा, रोजगारी सिर्जना र स्वरोजगार प्रवर्द्धनलाई प्राथमिकता दिइएको जानकारी दिइन्।

महानगरले युवा केन्द्रित “जेन जेड” र “जेन अल्फा” विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। यी कार्यक्रममार्फत उद्यमशीलता विकास, सीपमूलक तालिम र रोजगारी सिर्जनामा जोड दिइनेछ।

नीतिअनुसार महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, एकल महिला तथा शहीद परिवारलगायत पछाडि परेका समुदायलाई लक्षित गरी विशेष सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ।

त्यसैगरी “एक वडा एक नमूना कार्यक्रम” लाई थप प्रभावकारी बनाउँदै संस्थागत रूपमा विस्तार गरिने उल्लेख गरिएको छ। ज्येष्ठ तथा अशक्त नागरिकका लागि घरमै निःशुल्क स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउने व्यवस्था पनि नीति कार्यक्रममा समावेश छ। ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइने योजना पनि अघि सारिएको छ।

“मानवीयताको शहर” भन्ने अवधारणा अन्तर्गत महानगरले परम्परागत तथा आधुनिक सीप र ज्ञानको प्रमाणीकरण गरी प्रमाणपत्र दिने व्यवस्था गर्नेछ। यसैगरी, वातावरण संरक्षणतर्फ टोल, विद्यालय, पार्क र समुदायमा चराचुरुङ्गीमैत्री अभ्यास सञ्चालन गरिने र पानीको व्यवस्था गर्न पानी पात्र स्थापना गरिने योजना पनि समावेश गरिएको छ।

महानगरले युवा पुस्तालाई सुशासनको संवाहकका रूपमा स्वीकार गर्दै उनीहरूको सुझाव र आवश्यकताका आधारमा नीति कार्यान्वयन गर्ने बताएको छ।