राजनीतिलाई सेवाको प्रतीक बनाउन आवश्यक छ : गगन थापा

User Image Prime TV News एक दिन अगाडि
Image of राजनीतिलाई सेवाको प्रतीक बनाउन आवश्यक छ : गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई जनसेवा र उत्तरदायित्वको माध्यमका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले राजनीति केवल सत्ता प्राप्तिको साधन नभई समाज रूपान्तरण र नागरिक सेवाको माध्यम हुनुपर्ने बताएका हुन्।

काठमाडौं महानगरपालिका वडा नं. ८ ले सामाजिक सेवामा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले सम्मानित व्यक्तिहरूले आफ्नो पेशा र कार्यक्षेत्रमा मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कृतिलाई बलियो बनाउन पनि महत्वपूर्ण योगदान दिएको बताए।

उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन राजनीति र सामाजिक सेवाबीचको सम्बन्ध अझ सुदृढ हुनुपर्ने उल्लेख गर्दै सबै नागरिकले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने धारणा राखे। “राजनीतिलाई वास्तविक अर्थमा सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नु आजको आवश्यकता हो। हामी सबैले मिलेर त्यस दिशामा योगदान गर्नुपर्छ,” थापाको भनाइ थियो।

कार्यक्रममा सम्मान ग्रहण गर्दै परमानन्द झा ले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको संरचना भएको बताए। उनले वडा कार्यालयले नागरिकका सुख–दुःखमा साथ दिने र समाजका योगदानकर्ताहरूलाई सम्मान गरेर सकारात्मक सन्देश दिएको उल्लेख गरे।

झाले सक्रिय सार्वजनिक जीवनबाट अलग भइसकेका व्यक्तित्वहरूलाई पुनः सार्वजनिक रूपमा सम्मानित गर्ने कार्य प्रशंसनीय रहेको भन्दै यस्ता कार्यक्रमले सामाजिक एकता र सम्मानको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। आयोजकका अनुसार समाजसेवा, शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासमा योगदान दिएका नागरिकहरूको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।