स्थानीय निर्वाचन लक्षित गर्दै एमालेको ‘मिसन जागरण’ अभियान

User Image Prime TV News एक दिन अगाडि
Image of स्थानीय निर्वाचन लक्षित गर्दै एमालेको ‘मिसन जागरण’ अभियान

काठमाडौ । नेकपा एमालेले पार्टीको कमजोर बनेको जनाधार पुनः सुदृढ बनाउने र आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा सफलता हासिल गर्ने लक्ष्यसहित ‘मिसन जागरण’ अभियान सञ्चालन गर्ने भएको छ।

अभियानका लागि पार्टीले सबै केन्द्रीय सदस्यलाई कार्ययोजना तथा अवधारणापत्र पठाएर विभिन्न पालिकामा जिम्मेवारी तोकेको जनाएको छ। ३१ पृष्ठको अवधारणापत्रमा पछिल्ला निर्वाचनको समीक्षा, पार्टीले भोग्नुपरेको पराजयका कारण, कार्यकर्ता तथा जनतामा देखिएको निराशा र भावी रणनीतिबारे विस्तृत विश्लेषण गरिएको छ।

दस्तावेजमा २०७४ सालको निर्वाचनपछि बनेको वाम गठबन्धन र त्यसपछिको पार्टी एकताले जनतामा आशा जगाएको भए पनि एकता टिक्न नसक्नु तथा एमाले विभाजन हुनुले मतदाता निराश बनेको उल्लेख गरिएको छ। त्यसकै परिणामस्वरूप केही मतदाता वैकल्पिक राजनीतिक शक्तितर्फ आकर्षित भएको एमालेको निष्कर्ष छ।

एमालेले आफ्नो नेतृत्वमा भएका सरकारका उपलब्धिहरू प्रभावकारी रूपमा जनतासम्म पुर्‍याउन नसक्दा राजनीतिक क्षति भएको पनि स्वीकार गरेको छ। पार्टीले डिजिटल प्रचारको कमजोरी, सामाजिक सञ्जालमा प्रभावकारी उपस्थितिको अभाव तथा जनमत निर्माणमा देखिएको चुनौतीलाई समेत समीक्षा गरेको जनाएको छ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार अभियान मार्फत पार्टीका नेता–कार्यकर्तालाई वर्तमान राजनीतिक अवस्था, निर्वाचन परिणामको विश्लेषण र भावी कार्यदिशाबारे स्पष्ट जानकारी दिइनेछ। यसले संगठनभित्र एउटै सन्देश प्रवाह गर्न मद्दत पुग्ने विश्वास पार्टीले लिएको छ।

जनतासँगको सम्बन्ध सुदृढ बनाउन एमालेले ‘६ ज’ नीति अघि सारेको छ। यसअन्तर्गत जनतामा जाने, जनताका कुरा सुन्ने, जनप्रिय बन्ने, जनसंगठन परिचालन गर्ने, जनताको बहुदलीय जनवाद (जबज) आत्मसात् गर्ने तथा जनमतका आधारमा सक्षम नेतृत्व विकास गर्ने लक्ष्य राखिएको छ।

अभियानमा डिजिटल संगठन विस्तार, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, जनमत व्यवस्थापन र प्रचार रणनीतिलाई विशेष प्राथमिकता दिइएको छ। पार्टीले कार्यकर्तालाई डिजिटल माध्यममा सक्रिय हुन तथा आधुनिक सञ्चार प्रविधिको उपयोग गरेर जनतासम्म पुग्न निर्देशन दिएको जनाएको छ।

एमालेका अनुसार केन्द्रीय सदस्यहरूलाई विभिन्न पालिकामा खटाइएको छ भने आवश्यक स्थानमा अन्य नेताहरूलाई समेत जिम्मेवारी दिइएको छ। अभियानको प्रभावकारिता सुनिश्चित गर्न अनुगमनको व्यवस्था समेत गरिएको छ। साथै, केन्द्रबाट खटिने नेताहरूलाई होटलभन्दा जनताकै घरमा बस्दै प्रत्यक्ष संवाद गर्न प्रोत्साहित गरिएको छ।

पार्टीले ‘मिसन जागरण’ अभियानलाई आगामी स्थानीय तह र प्रदेश निर्वाचनसम्म निरन्तर सञ्चालन गर्ने जनाएको छ।