असारका लागि वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर घट्यो
Prime TV News एक दिन अगाडि काठमाडौ । असार महिनाका लागि नेपालका वाणिज्य बैंकहरूले नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक दरअनुसार जेठ महिनाको तुलनामा औसत निक्षेप ब्याजदरमा सामान्य गिरावट आएको छ।
व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले दिने अधिकतम औसत ब्याजदर असारमा ४.२७ प्रतिशतमा झरेको छ। जेठ महिनामा यस्तो ब्याजदर ४.३४ प्रतिशत रहेको थियो। यसले बचतकर्ताले मुद्दती निक्षेपमा प्राप्त गर्ने प्रतिफल केही घटेको देखाएको छ।
त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ। जेठमा ३.२० प्रतिशत रहेको औसत ब्याजदर असारमा ३.१८ प्रतिशतमा कायम भएको छ। देशभर सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले असारका लागि ब्याजदर घटाएका छन्।
ब्याजदर घटाउने बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंक रहेका छन् । बाँकी १३ वाणिज्य बैंकले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
बैंकिङ क्षेत्रमा निक्षेपको पर्याप्तता, कर्जाको माग तथा तरलता अवस्थाका आधारमा ब्याजदर निर्धारण हुने गर्छ। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज बन्दै जाँदा निक्षेप ब्याजदरमा क्रमिक कमी देखिएको विश्लेषण गरिएको छ ।







