सुन र चाँदीको मूल्यमा पुनः वृद्धि

User Image Prime TV News २ दिन अगाडि
Image of सुन र चाँदीको मूल्यमा पुनः वृद्धि

काठमाडौ। केही दिनको तीव्र गिरावटपछि नेपाली बजारमा सुन र चाँदीको मूल्य पुनः बढ्न थालेको छ। गएको शुक्रबार उकालो लागेको सुनको भाउ आज पनि बढेर प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो। शुक्रबार सुनको भाउ २ लाख ९२ हजार रुपैयाँ कायम भएको थियो। यसअघि सुनको मूल्यमा उल्लेखनीय गिरावट देखिएको थियो।

बुधबार प्रतितोला १० हजार १ सय रुपैयाँ र बिहीबार ५ हजार १ सय रुपैयाँले घट्दा दुई दिनमै सुनको मूल्य १५ हजार २ सय रुपैयाँले ओरालो लागेको थियो। तर त्यसपछिका दुई कारोबार दिनमा मूल्य पुनः बढ्न थालेको देखिएको छ। चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मूल्य १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँमा पुगेको थियो।

यस वर्ष माघ १५ गते सुनले ऐतिहासिक कीर्तिमान बनाउँदै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँको उच्चतम मूल्य छोएको थियो। त्यही दिन चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो। बजार जानकारहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य, अमेरिकी डलरको विनिमय दर तथा लगानीकर्ताको मागका कारण सुनचाँदीको मूल्यमा उतारचढाव देखिने गरेको छ।

पछिल्ला दिनमा देखिएको मूल्यवृद्धिले बजारमा पुनः सुधारको संकेत गरेको व्यवसायीहरूको भनाइ छ।