रास्वपा लुम्बिनी प्रदेशको नेतृत्वमा शालिकराम घिमिरे

User Image Prime TV News २ दिन अगाडि
Image of रास्वपा लुम्बिनी प्रदेशको नेतृत्वमा शालिकराम घिमिरे

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे सभापतिमा निर्वाचित भएका छन्। पहिलो चरणको मतदानमा सबैभन्दा बढी मत प्राप्त गरेका घिमिरे अन्ततः दोस्रो चरणको निर्वाचन नगरी सभापतिमा निर्वाचित भएका हुन्।

सभापति पदका लागि भएको प्रतिस्पर्धामा ६ जना उम्मेदवार मैदानमा थिए। मतदानमा शालिकराम घिमिरेले १९९ मत प्राप्त गर्दै अग्रता कायम गरेका थिए। तर कुल मतको ५१ प्रतिशत नपुगेकाले दोस्रो चरणको निर्वाचन हुने तयारी गरिएको थियो।

दोस्रो चरणमा शालिकरामका निकटतम प्रतिस्पर्धी गोपाल घिमिरे सँग प्रतिस्पर्धा हुने तय भए पनि गोपालले शालिकरामलाई समर्थन गर्ने घोषणा गरेपछि पुनः मतदान आवश्यक परेन। त्यसपछि निर्वाचन समितिले शालिकरामलाई प्रदेश सभापतिमा निर्वाचित भएको घोषणा गरेको जनाएको छ।

निर्वाचन परिणामअनुसार गोपाल घिमिरेले ८७ मत, गणेश पौडेलले ८४ मत, डा. राजकुमार सुवेदीले ८० मत, मञ्जु भुसालले ७१ मत तथा मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए। घोराहीमा सम्पन्न अधिवेशनको निर्वाचनमा कुल ५५२ मत खसेको थियो।

नयाँ नेतृत्व चयनसँगै रास्वपाले लुम्बिनी प्रदेशमा संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।