ट्रम्पको दाबी : अमेरिका–इरान सम्झौता आज हुन सक्ने, इरानले भन्यो– अझै टुंगो छैन
Prime TV News २ दिन अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच जारी द्वन्द्व अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुन सक्ने दाबी गरेका छन्।
ट्रम्पका अनुसार सम्झौता भएपछि विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज पुनः सबैका लागि खुला हुनेछ। सम्झौतामा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र प्रक्रिया अन्तिम चरणमा पुग्न सक्ने र इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको जनाएको छ।
तर इरानले भने सम्झौता तत्काल हुने विषयमा सावधानी अपनाउन आग्रह गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता स्माइल बघाई ले हस्ताक्षरको निश्चित मिति तय नभएको बताएका छन्।
यस्तै, इरानी विदेशमन्त्री अब्बास अराघ्चीले वार्ता अन्तिम चरणतर्फ उन्मुख रहेको संकेत दिएका छन्। प्रस्तावित सहमतिमा क्षेत्रीय तनाव घटाउने, होर्मुज मार्ग पुनः सञ्चालन गर्ने तथा केही आर्थिक प्रतिबन्धसम्बन्धी विषय समेटिएको बताइएको छ। आणविक कार्यक्रमसम्बन्धी विस्तृत वार्ता भने पछि सुरु हुने जनाइएको छ।







