रास्वपा लुम्बिनीमा सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने

User Image Prime TV News २ दिन अगाडि
Image of रास्वपा लुम्बिनीमा सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने

दाङ। राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ।

मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार सभापति पदमा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणको मतदानबाट कुनै उम्मेदवारले आवश्यक बहुमत हासिल गर्न नसकेपछि सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः निर्वाचन गराउने निर्णय गरिएको हो।

निर्वाचन परिणामअनुसार रुपन्देहीका सालिकराम घिमिरेले १९९ मत प्राप्त गर्दै अग्रता बनाए भने अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत पाए। त्यसैगरी गणेश पौडेलले ८४, डा. राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१ र मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका छन्।

अब सभापति पदका लागि सालिकराम घिमिरे र गोपाल घिमिरेबीच दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ। दाङको घोराहीमा जारी अधिवेशनअन्तर्गत शनिबार सम्पन्न मतदानमा कुल ५५२ मत खसेको थियो।

निर्वाचन समितिले दोस्रो चरणको मतदानअघि सहमतिको सम्भावना खुला राखेको जनाएको छ। सहमति हुन नसके सूचना प्रकाशित गरी तोकिएको समयपछि पुनः मतदान गराइने बताइएको छ।