कांग्रेसभित्र सहमतिको प्रयासः गगन–विश्वको ७ बुँदे प्रस्ताव सार्वजनिक
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेस भित्र देखिएको आन्तरिक विवाद समाधान गर्दै आगामी १५ औँ महाधिवेशनलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यसहित सभापति गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले अघि सारेको ७ बुँदे प्रस्ताव सार्वजनिक भएको छ।
गत जेठ १६ गते आन्तरिक रूपमा पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाइएको प्रस्तावमा लामो समयसम्म औपचारिक प्रतिक्रिया नआएपछि जेठ ३१ गते सार्वजनिक गरिएको जनाइएको छ।
‘सबै सँगै बढौँ यसरी’ भन्ने नारासहित ल्याइएको प्रस्तावले विशेष महाधिवेशनपछि बढेको मतभेदलाई संस्थागत ढङ्गले व्यवस्थापन गर्दै पार्टी एकता कायम गर्ने रोडम्याप प्रस्तुत गरेको दाबी गरिएको छ।
प्रस्तावमा विशेष महाधिवेशन, निर्वाचन आयोगको अद्यावधिक प्रक्रिया र अदालतका निर्णयलाई स्वीकार गर्दै बाँकी राजनीतिक मतभेदलाई आगामी १५ औँ महाधिवेशनको बन्दसत्रमा छलफल गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, केन्द्रीय समितिमा रहेका नेताहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्ने अभ्यास अन्त्य गरी वडा तहबाट निर्वाचित भएर प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था अघि सारिएको छ। यसलाई पार्टी संरचनालाई थप प्रतिस्पर्धात्मक र तल्लो तहसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ।
७ बुँदे प्रस्तावका मुख्य विषयहरू यस्ता छन्—
- पार्टीभित्र सबै समूहबीच एकता र समान व्यवहार कायम गर्ने
- क्रियाशील सदस्यता अद्यावधिक समयमै सम्पन्न गर्ने
- लामो योगदान गरेका अग्रजलाई ‘वरिष्ठ नेता’ भूमिकाबाट सम्मान गर्ने
- जिम्मेवारी लिन इच्छुक नेताहरूलाई कार्यसम्पादन तहमा सहभागी गराउने
- महाधिवेशनसँग सम्बन्धित समितिहरूमा सहकार्य सुनिश्चित गर्ने
- ‘१५ औँ महाधिवेशन व्यवस्थापन समिति’ गठन गर्ने
- भ्रातृ तथा शुभेच्छुक संस्थामा योग्यता र इच्छाअनुसार जिम्मेवारी बाँडफाँट गर्ने







