चार दिने भ्रमणका लागि परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल आज चार दिने औपचारिक भ्रमणका लागि चीन जाँदै छन्। उनी चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा बेइजिङ प्रस्थान गर्न लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनाल र वाङबीच नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, द्विपक्षीय सहकार्य विस्तार गर्ने तथा साझा हितका विषयमा औपचारिक वार्ता हुनेछ।
वार्तामा विशेषगरी आर्थिक सहकार्य, पूर्वाधार विकास, कनेक्टिभिटी, व्यापार विस्तार, लगानी प्रवर्द्धन तथा क्षेत्रीय परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ। साथै, मन्त्री खनालले चीनका अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
यो भ्रमणलाई नेपाल–चीन सम्बन्धको आगामी दिशा निर्धारणका दृष्टिले महत्वपूर्ण मानिएको छ। विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना, व्यापार घाटा न्यूनीकरण र बदलिँदो क्षेत्रीय शक्ति सन्तुलनबीच नेपालको कूटनीतिक प्राथमिकता यस भ्रमणको केन्द्रमा रहने विश्लेषण गरिएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागिता जनाउँदै चिनियाँ व्यवसायी समुदायसँग पनि अन्तरक्रिया गर्नेछन्। मन्त्रालयका अनुसार उनी असार ३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ। यसअघि मन्त्री खनालले जेठ २२ देखि २४ गतेसम्म भारतको भ्रमण गरेका थिए।







