ब्राजिल र मोरक्को बराबरीमा, अन्सेलोटीको विश्वकप सुरुवात चुनौतीपूर्ण

User Image Prime TV News २ दिन अगाडि
Image of ब्राजिल र मोरक्को बराबरीमा, अन्सेलोटीको विश्वकप सुरुवात चुनौतीपूर्ण

काठमाडौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा ब्राजिल र मोरक्को बीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ। मेटलाइफ स्टेडियम मा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अंक बाँडेका हुन्।

खेलको २१ औँ मिनेटमा इस्माइल साइबारीले उत्कृष्ट गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए। ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै साइबारीले ब्राजिलका गोलकिपर एलिसन बेकर माथि आकर्षक प्रहार गर्दै टोलीलाई अघि बढाएका थिए।

तर मोरक्कोको अग्रता धेरै बेर टिकेन। खेलको ३२ औँ मिनेटमा ब्राजिलका स्टार विनेसियस जुनियरले ब्रुनो गुइमारेसको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

सन् २००२ पछि पुनः विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको ब्राजिलका लागि नयाँ प्रशिक्षक कार्लो अन्सेलोटीको यो पहिलो ठूलो विश्वकप परीक्षा बनेको छ। ब्राजिलको इतिहासमा पहिलो विदेशी प्रशिक्षकका रूपमा टोली सम्हालेका अन्सेलोटीमाथि सुरुवातदेखि नै दबाब देखिएको छ।

दोस्रो हाफमा ब्राजिलले केही अवसर सिर्जना गरे पनि लुकास पाक्वेटा, राफिन्हा र डानिलोका प्रहार मोरक्कोका गोलरक्षक यासिन बोनो ले रोके। अन्तिम समयमा एलिसन बेकरले पनि महत्वपूर्ण बचाउ गर्दै ब्राजिललाई हारबाट जोगाए।

यस बराबरीसँगै दुवै टोलीले समूहमा १–१ अंक जोडेका छन्। अब समूह ‘सी’ अन्तर्गत ब्राजिलले हाइटी सँग खेल्नेछ भने मोरक्कोले स्कटल्यान्डको सामना गर्नेछ।