पश्चिमी न्यूनचापीय प्रभाव कायम, कोशीमा भारी वर्षाको चेतावनी
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । देशभर मौसममा आंशिक परिवर्तन देखिएको छ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखासँगै स्थानीय तथा पूर्वीय वायुको प्रभावका कारण विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। अन्य भूभागमा भने आंशिक बदलीको अवस्था कायम छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि औंल्याइएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली रहने अनुमान गरिएको छ। मधेशसहित अन्य क्षेत्रमा भने मौसम तुलनात्मक रूपमा सफा रहने अपेक्षा गरिएको छ।
विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो, सडक अवरोध, नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने जोखिमप्रति सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। यात्रा तथा दैनिक गतिविधिमा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।







