सम्पत्ति शुद्धीकरण मुद्दामा वित्तीय क्षेत्रमा ठूलो कारबाही, ७ सीईओ स्वतः निलम्बित

User Image Prime TV News ४ घण्टा अगाडि
Image of सम्पत्ति शुद्धीकरण मुद्दामा वित्तीय क्षेत्रमा ठूलो कारबाही, ७ सीईओ स्वतः निलम्बित

काठमाडौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा दायर गरेको मुद्दापछि वित्तीय क्षेत्रका उच्च तहका अधिकारीहरू ठूलो संख्यामा निलम्बनमा परेका छन्।

दीपक भट्टसँग सम्बन्धित भनिएको सम्पत्ति शुद्धीकरण मुद्दासँग जोडिएपछि दुई पुनर्बीमा कम्पनी र पाँच लघु बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमुक्त अवस्थामा पुगेका हुन्। मुद्दामा नेपाल रिइन्स्योरेन्सका सीईओ सुरेन्द्र थापा र हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पनि समावेश छन्। उनीहरूसँगै लघु बीमा क्षेत्रमा कार्यरत अन्य पाँच कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू पनि निलम्बित भएका छन्।

निलम्बित हुनेमा लिबर्टी माइक्रो लाइफका सीईओ रामकुमार यादव, क्रेष्ट माइक्रोका सीईओ प्रतापमान श्रेष्ठ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश कुमार रोका, गार्डियन माइक्रो लाइफका सीईओ चिरायू भण्डारी तथा नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्रनाथ रिमाल रहेका छन्।

मुद्दा दायर भएसँगै प्रचलित कानुनअनुसार उनीहरू मुद्दाको अन्तिम किनारा नलागेसम्म पदमा फर्किन नपाउने भएका छन्। यस घटनाले बीमा तथा पुनर्बीमा क्षेत्रको नेतृत्व संरचनामा तत्काल असर पारेको छ। यसैबीच नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष तथा सहसचिव मदन दाहाल पनि निलम्बनमा परेका छन् भने पूर्व अध्यक्ष शरद ओझाविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएपछि सार्वजनिक पदमा रहेका व्यक्तिहरू स्वतः निलम्बन हुने कानुनी व्यवस्थाअनुसार यो कारबाही अघि बढाइएको हो। यस घटनाले वित्तीय नियमन र पारदर्शिताबारे फेरि बहस चर्किएको छ।