थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको निधन
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ। तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहेकी उनको बिहीबार साँझ निधन भएको भन्दै शाही दरबारले आधिकारिक जानकारी दिएको हो।
राजकुमारी बजर कितियाभा सन् २०२२ को डिसेम्बरमा आफ्ना कुकुरहरूलाई व्यायाम गराइरहेका बेला अचानक बेहोस भएकी थिइन्। चिकित्सकहरूका अनुसार मुटुमा भएको माइकोप्लाज्मा संक्रमणका कारण मुटुको धड्कन असामान्य बनेपछि उनी ढलेकी थिइन्। त्यसयता उनी कोमामा रहँदै आएकी थिइन्।
शाही दरबारले जारी गरेको वक्तव्यमा चिकित्सकहरूको टोलीले निरन्तर उपचार र निगरानी गरे पनि उनको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको उल्लेख गरिएको छ। दरबारका अनुसार उनको स्थानीय समयअनुसार बिहीबार साँझ निधन भएको हो।
राजकुमारी बजरकितियाभा थाइल्याण्डका राजा वजिरालोङकोर्नका सात सन्तानमध्ये जेठी छोरी थिइन्। कानुन विषयमा उच्च शिक्षा हासिल गरेकी उनले अमेरिकाबाट दुईवटा स्नातकोत्तर उपाधि प्राप्त गरेकी थिइन्। उनले संयुक्त राष्ट्रसंघमा थाइल्याण्डको स्थायी नियोगअन्तर्गत काम गर्नुका साथै स्वदेशमा महान्यायाधिवक्ताको कार्यालयमा पनि जिम्मेवारी सम्हालेकी थिइन्।
सन् २०१२ देखि २०१४ सम्म उनी अष्ट्रियाका लागि थाइल्याण्डकी राजदूत रहेकी थिइन्। सार्वजनिक जीवनमा उनी विशेषगरी महिला कैदीहरूको अधिकार, कारागार सुधार तथा न्याय प्रणालीमा सुधारका पक्षमा सक्रिय आवाज उठाउने व्यक्तित्वका रूपमा परिचित थिइन्।
सन् २०२१ मा उनलाई शाही निजी अंगरक्षक दस्ताको प्रमुख कर्मचारी नियुक्त गर्दै जनरलको दर्जा प्रदान गरिएको थियो। उनी फिटनेसप्रेमीका रूपमा पनि चिनिन्थिन् र विभिन्न लामो दूरीका दौड प्रतियोगिताहरूमा नियमित सहभागिता जनाउने गर्थिन्।
राजकुमारी बजरकितियाभाको निधनसँगै थाइल्याण्डले शाही परिवारकी एक प्रभावशाली, शिक्षित र सक्रिय सदस्य गुमाएको छ। उनको योगदानलाई सम्झँदै देशभर श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी रहेको छ।







