सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’

User Image Prime TV News ४ घण्टा अगाडि
Image of सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को गतिविधिबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा सुरक्षाको विषयमा सरकारको धारणा स्पष्ट गर्न माग गरेका हुन्।

सांसद राईले सुस्तामा भारतीय सीमा बलका सुरक्षाकर्मीले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको भन्दै सार्वजनिक भएका भिडियोप्रति गम्भीर चासो व्यक्त गरे। उनले सीमाक्षेत्रमा देखिएको घटनाबारे सरकारले तत्काल जवाफ दिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्री बैठकमा उपस्थित नभएको उल्लेख गर्दै रक्षामन्त्रीलाई सदनमा बोलाउन सभामुखसँग आग्रह गरे। सीमा सुरक्षा, सुस्ताको अवस्था तथा सरकारको तयारीबारे आफूहरूले प्रश्न गर्न चाहेको उनको भनाइ थियो।

राईले नेपाली भूमि र सीमाको सुरक्षाका लागि आवश्यक व्यवस्था किन प्रभावकारी रूपमा हुन नसकेको भन्ने प्रश्न पनि उठाए। उनले सीमाक्षेत्रमा नेपाली सेनाको उपस्थितिसम्बन्धी नीतिगत अवस्था के हो भन्नेबारे स्पष्ट जानकारी दिन सरकारसँग माग गरेका छन्।

सुस्ता क्षेत्रमा पछिल्लो समय भारतीय सुरक्षाकर्मीको उपस्थितिलाई लिएर स्थानीयवासी र भारतीय पक्षबीच विवाद उत्पन्न भएको समाचार सार्वजनिक भइरहेका छन्। यसै विषयलाई लिएर संसद्मा समेत बहस सुरु भएको हो। सांसद राईले सीमा सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्न र आवश्यक कूटनीतिक तथा सुरक्षा पहल गर्न आग्रह गरेका छन्।