अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर लेखा समितिमा विवाद, सांसदबीच चर्कियो बहस
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिलाई लिएर सत्ता र प्रतिपक्षका सांसदबीच तीव्र बहस भएको छ। प्रतिपक्षी सांसदहरूले अर्थमन्त्रीले समितिको मर्यादाविपरीत सांसदहरूलाई धम्की दिने शैलीमा अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
बिहीबारको बैठकमा अर्थमन्त्री वाग्लेले विगतमा पनि आर्थिक विधेयक संशोधन हुने गरेको उल्लेख गर्दै आफूले समेत आवश्यक सच्याउने काम गरेको बताएका थिए। उनले सरकारले सुशासनका विषयमा कडा कदम चाल्ने र विगतका फाइलहरू खोल्ने तयारी गरिरहेको पनि बताएका थिए।
यही अभिव्यक्तिलाई लिएर शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले आपत्ति जनाए। उनले अर्थमन्त्रीले सांसदहरूलाई हेप्ने र दबाब दिने शैलीमा प्रस्तुत भएको आरोप लगाउँदै समितिको गरिमामाथि आँच पुगेको बताए।
पुनले विगतमा भएका गल्तीको संख्या देखाएर वर्तमान गल्तीलाई सानो देखाउन नमिल्ने तर्क गरे। उनका अनुसार कुनै पनि त्रुटि वा अनियमितता सानो–ठूलो भन्ने विषय नभई त्यसको जवाफदेहिता महत्त्वपूर्ण हुन्छ। उनले समितिमा तथ्य र प्रमाणका आधारमा छलफल हुनुपर्नेमा धम्कीपूर्ण सन्देश दिन खोजिएको आरोप लगाए।
समितिको मानमर्दन हुने किसिमका गतिविधि दोहोरिए सदस्यहरूले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै उनले सभापतिबाट स्पष्ट निर्देशन आवश्यक रहेको माग गरे। पुनको भनाइपछि सत्तापक्षका सांसद गणेश पराजुलीले प्रतिवाद गरेका थिए। उनले पुनको टिप्पणीलाई व्यक्तिगत असन्तुष्टि र राजनीतिक दुखेसोको रूपमा व्याख्या गर्दै लोकतान्त्रिक प्रक्रियामा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।
पराजुलीले पूर्वअर्थमन्त्री भएकाले पुनले वर्तमान अर्थमन्त्रीको जिम्मेवारी र चुनौती बुझ्नुपर्ने उल्लेख गरे। उनले प्रतिपक्षमा हुँदा आफूहरूले पनि विभिन्न दबाब र टिप्पणी सामना गरेको स्मरण गराउँदै लोकतान्त्रिक संस्थालाई बलियो बनाउन संवाद र सहकार्य आवश्यक रहेको बताए।
उनले समितिले आफ्नो अधिकारभित्र रहेर आवश्यक छानबिन र निगरानी गर्ने विषयमा कुनै मतभेद नरहेको स्पष्ट पार्दै धम्की, अवरोध र टकरावले समस्या समाधान नहुने धारणा राखे। दुवै पक्षबीचको बहसपछि सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
उनले तत्काल विवादलाई थप नबढाई आवश्यक परे आगामी बैठकमा यस विषयमा विस्तृत छलफल गरिने बताएका छन्। बैठकमा सांसदहरूले कानुनी अस्पष्टता रहेका विषयहरू स्पष्ट पार्न सरकार र समितिबीच समन्वय आवश्यक रहेको पनि औँल्याएका छन्। अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर उठेको विवादले सार्वजनिक लेखा समितिको बैठक केही समय तनावपूर्ण बनेको थियो।







