दक्षिण कोरियाको विजयी सुरुआत, चेकिया २–१ ले पराजित

User Image Prime TV News ६ घण्टा अगाडि
Image of दक्षिण कोरियाको विजयी सुरुआत, चेकिया २–१ ले पराजित

काठमाडौ । फिफा विश्वकप फुटबल प्रतियोगितामा दक्षिण कोरियाले विजयी सुरुआत गरेको छ। समूह चरणअन्तर्गत सम्पन्न खेलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफ दुवै टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरेका थिए। खेलको छपन्नौँ मिनेटमा चेकियाका कप्तान लेडिस्लाभ क्रेज्कीले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर दक्षिण कोरियाले त्यसको जवाफ दिन धेरै समय लगाएन। खेलको सत्सट्ठीऔँ मिनेटमा ह्वाङ उइ जोले गोल गर्दै खेललाई एक–एकको बराबरीमा पुर्‍याए। बराबरीपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो। खेलको असीऔँ मिनेटमा ओ ह्योन ग्युले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई २–१ को अग्रता दिलाए। त्यसपछि बाँकी समयमा चेकियाले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।

यस जितसँगै दक्षिण कोरियाले महत्वपूर्ण तीन अंक जोडेको छ भने विश्वकपमा बीस वर्षपछि पुनरागमन गरेको चेकियाले प्रतियोगिताको पहिलो खेलमै हार बेहोरेको छ।