गंगा दाहालको गुनासो: ‘सामाजिक सञ्जालमा योजनाबद्ध मिडिया ट्रायल भयो, दुष्प्रचार रोक्न सरकारसँग माग’
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेकपा संयोजक पुष्पकमल दाहालकी छोरी गंगा दाहालले आफू र आफ्नो परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा ‘मिडिया ट्रायल’ चलाइएको भन्दै गम्भीर आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जालमा सार्वजनिक धारणा राख्दै उनले नामसमेत नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टहरूबाट आधारहीन, भ्रामक तथा षड्यन्त्रपूर्ण सामग्री फैलाएर आफू र परिवारलाई लक्षित गरिएको दाबी गरेकी छन्।
उनले यस्ता गतिविधिलाई पूर्ण रूपमा अस्वीकार गर्दै सत्यभन्दा बाहिरका सामग्रीबाट समाजमा भ्रम फैलाउने प्रयास भएको उल्लेख गरेकी छन्।
दाहालले राजनीतिक पूर्वाग्रहका आधारमा सामाजिक सञ्जालको दुरुपयोग भइरहेको भन्दै प्रश्न उठाएकी छन्— किन पटक–पटक आफू र परिवारलाई निशाना बनाइन्छ? उनले यस्ता गतिविधिले व्यक्तिगत प्रतिष्ठामात्र नभई सार्वजनिक संवादको स्तर समेत कमजोर बनाउने बताएकी छन्।
यससँगै उनले नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायलाई ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जालमार्फत दुष्प्रचार फैलाउने र भ्रम सिर्जना गर्ने व्यक्तिमाथि कानुनअनुसार कडा कारबाही गर्न माग गरेकी छन्।
आफ्नो भनाइमा उनले आफ्ना दिवंगत भाइ प्रकाश दाहालको असामयिक निधनपछि पार्टीको निर्णयअनुसार नेतृत्वलाई सहयोग गर्दै आएको उल्लेख गरेकी छन्। उनले कुनै व्यक्तिगत लाभ, पद वा प्रतिष्ठिको अपेक्षा नगरी आफ्नो समय, ऊर्जा र क्षमता पार्टी तथा नेतृत्वको हितमा समर्पित गर्दै आएको दाबी गरेकी छन्।







