पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

User Image Prime TV News ६ घण्टा अगाडि
Image of पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौ । नेपालमा अहिले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको संयुक्त प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव आगामी केही समयसम्म कायम रहने देखिएको छ । हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ । लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहने अनुमान गरिएको छ । बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ । मौसमविद्का अनुसार कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

त्यस्तै, आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशसहित तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेस प्रदेशका केही भूभागमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

मौसमविद्ले वर्षा र चट्याङको सम्भावना रहेकाले विशेषगरी पहाडी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् । यात्रामा निस्कने र खुला स्थानमा रहनेहरूले मौसमको अद्यावधिक जानकारी हेरेर मात्र योजना बनाउन सुझाव दिइएको छ ।