समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक, ऋण तिर्न समितिको आग्रह

User Image Prime TV News २ घण्टा अगाडि
Image of समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक, ऋण तिर्न समितिको आग्रह

काठमाडौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।

जसमध्ये हाम्रो नयाँ कृषि सहकारीको १२ जना र कृषि विकास बहुउदेश्यीय सहकारीका १२० जना ऋणीहरू छन् । समितिले २३ वैशाख २०८३ काे निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ । समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ ।

यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुनसमेत आग्रह गरिएको छ । त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ ।

अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ ।