रास्वपा कोशी अधिवेशनपछि गोमा तामाङले राजनीति त्यागको घोषणा, ‘माथिको ह्विप’ ले हराएको आरोप
Prime TV News ९ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी गोमा तामाङले रास्वपाको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि राजनीति छाड्ने घोषणा गरेकी छन्। उनले आफूलाई “माथिको ह्विप” र आन्तरिक गुटबन्दीका कारण हराइएको आरोपसमेत लगाएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै तामाङले केही सांसद र केन्द्रीय नेताहरू आफ्नो पराजयका लागि सक्रिय भएको दाबी गरेकी छन्। उनले सेटिङ र प्यानल राजनीतिमा आफू नलागेकै कारण हार बेहोर्नुपरेको उल्लेख गरेकी छन्। “आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ। माननीय तृतीयज्यू र केन्द्रीय सदस्यज्यू धन्यवाद,” उनले लेखेकी छन्, “सायद अनेक सेटिङ र प्यानल बनाउन जानिनँ मैले।”
तामाङले कोशी प्रदेशमा गुटबन्दीले पार्टीलाई दीर्घकालीन असर पार्ने चेतावनी दिँदै आफ्नो सोझोपन र स्वतन्त्र शैली नै कमजोरी बनेको टिप्पणी गरेकी छन्। प्रदेश अधिवेशन अन्तर्गत सभापति पदका लागि भएको निर्वाचनमा चन्द्र बहादुर राईले २८० मत प्राप्त गर्दै विजयी भएका छन्।
कुल ४९० मत खसेको निर्वाचनमा उनले ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेपछि पहिलो चरणमै निर्वाचित भएका हुन्। यस्तै, तामाङले १४१ मत प्राप्त गरिन् भने खगेन्द्र कटुवालले ४१ र चन्द्र कुमार गौलीले २७ मत प्राप्त गरेका छन्।
मतपरिणाम सार्वजनिक हुनुअघि नै तामाङले सामाजिक सञ्जालमार्फत राजनीति छाड्ने घोषणा गर्दै मतदाताहरूलाई धन्यवाद व्यक्त गरेकी थिइन्। रास्वपाको कोशी प्रदेश संगठनका संस्थापक नेतामध्ये एक मानिएकी तामाङ हाल कार्यवाहक प्रदेश सभापतिको जिम्मेवारीमा थिइन्। यसअघि प्रतिनिधिसभा निर्वाचनमा उनी हर्क साम्पाङ सँग सुनसरी–१ बाट पराजित भएकी थिइन्।







