नेपाल–भारत सीमा व्यवस्थापनमा प्राविधिक काम जारी, केही क्षेत्रमा नक्साङ्कन बाँकी रहेको सरकारको भनाइ

User Image Prime TV News एक घण्टा अगाडि
Image of नेपाल–भारत सीमा व्यवस्थापनमा प्राविधिक काम जारी, केही क्षेत्रमा नक्साङ्कन बाँकी रहेको सरकारको भनाइ

काठमाडौ ।  परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको सीमा व्यवस्थापन तथा नक्साङ्कनका केही काम अझै बाँकी रहेको बताएका छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले नेपाल–भारत सीमा सन् १८१६ को सुगौली सन्धिअनुसार स्थापित रहेको स्पष्ट पारे। उनका अनुसार सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्र पूर्ण नक्साङ्कनको काम बाँकी रहेको छ।

मन्त्री खनालले अन्य सीमा क्षेत्रमा भने दशगजा अतिक्रमण र सीमा पारबाट हुने कब्जासम्बन्धी समस्या विद्यमान रहेको जानकारी दिए। उनले पछिल्लो समय चर्चामा आएको सीमा सम्बन्धी अभिव्यक्तिको सन्दर्भमा स्पष्ट पार्दै ती टिप्पणीहरू मुख्य रूपमा दशगजा क्षेत्रको अतिक्रमण र सीमापार कब्जासँग सम्बन्धित रहेको बताए।

उनका अनुसार नेपाल–भारत संयुक्त प्राविधिक समितिले सीमा व्यवस्थापनका लागि नक्साङ्कन, सीमा स्तम्भ निर्माण तथा मर्मत, दशगजा क्षेत्रको अतिक्रमण पहिचान र अभिलेखीकरणको काम गरिरहेको छ। “नेपाल र भारतबीचको लामो सीमालाई व्यवस्थित र वैज्ञानिक रूपमा व्यवस्थापन गर्न दुवै देशका प्राविधिक टोलीहरू सक्रिय छन्,” मन्त्री खनालले संसदमा भने।

उनले लामो समयदेखि अवरुद्ध रहेको संयुक्त प्राविधिक समितिको काम पुनः सुरु भएको र हाल सीमा क्षेत्रमा संयुक्त रूपमा तथ्याङ्क सङ्कलन तथा अध्ययन भइरहेको जानकारी दिए। सरकारले सीमा सुरक्षा र भूमि व्यवस्थापनका विषयमा छिमेकी भारतसँग निरन्तर कूटनीतिक तथा प्राविधिक संवादमार्फत समाधान खोजिरहेको उनको भनाइ छ।