बजेट ‘फुकेको बेलुन’ जस्तै भएको रास्वपा सांसद अमरेश सिंहको टिप्पणी
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभामा जारी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा बोल्दै रास्वपाका सांसद अमरेश कुमार सिंहले सरकारद्वारा प्रस्तुत बजेटलाई “फुकेको बेलुन” जस्तो भएको टिप्पणी गरेका छन्।
बजेट छलफलमा भाग लिँदै उनले सरकारले आन्तरिक उत्पादन र रोजगारी सिर्जनाभन्दा ऋणमा आधारित खर्च बढाएको आरोप लगाए। बजेटले दीर्घकालीन विकासभन्दा तत्कालीन खर्च व्यवस्थापनलाई प्राथमिकता दिएको उनको भनाइ थियो।
उनले कर्मचारीको तलब वृद्धि भए पनि त्यसको प्रत्यक्ष लाभ गरिब तथा विपन्न वर्गसम्म नपुगेको उल्लेख गरे। “कर्मचारीले २१ प्रतिशत बढेको तलब पाए। तीन करोडमा कर्मचारी कति लाख छन्? गरिबले के पायो? मेरो चिन्ता मुसहर, चेपाङ र गरिब बस्तीमा छ,” उनले भने।
सांसद सिंहले मुलुकको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्समा निर्भर हुँदै गएको भन्दै उत्पादनमूलक क्षेत्र कमजोर भएको टिप्पणी गरे। उनका अनुसार झण्डै सात खर्ब रुपैयाँको घाटा बजेटले देशलाई ऋणको चक्रमा धकेलेको छ, जसले दीर्घकालीन विकासमा बाधा पुर्याउने जोखिम छ।
“झण्डै सात खर्बको घाटाको बजेट आएको छ। एउटाको ऋण तिर्न अर्कोसँग ऋण लिने अवस्था छ,” उनले भने, “साढे चार खर्ब आन्तरिक ऋण लिने तर साढे तीन खर्ब ऋण तिर्नमै जाने भएपछि विकास कहाँबाट हुन्छ?”
उनले सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयनमा समेत विश्वास गर्न नसकिने भन्दै आलोचना गरे। साथै, बजेट घोषणा भएकै भोलिपल्ट देश विकासमा तीव्र छलाङ मार्ने अपेक्षा अवास्तविक हुने टिप्पणी गरे।







