रास्वपामा संगठन विस्तारको तयारी, १६ सदस्यीय पदाधिकारी र १३६ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव

User Image Prime TV News एक घण्टा अगाडि
Image of रास्वपामा संगठन विस्तारको तयारी, १६ सदस्यीय पदाधिकारी र १३६ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव

काठमाडौ । प्रथम महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले संगठनात्मक संरचना विस्तार गर्ने प्रस्ताव अघि सारेको छ। विधान संशोधन कार्यदलले पार्टीमा १६ सदस्यीय पदाधिकारी र १३६ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था प्रस्ताव गर्दै संशोधित मस्यौदा केन्द्रीय समितिमा पेश गरेको छ।

सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रस्ताव अनुसार पार्टीमा एक सभापति, तीन उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष रहने व्यवस्था गरिएको छ। यस्तै २५ सदस्यीय सचिवालय गठन गर्ने प्रस्ताव पनि मस्यौदामा समेटिएको छ।

पार्टीभित्र भने पदाधिकारी र केन्द्रीय समितिको आकार अझै बढाउनुपर्ने आवाजसमेत उठ्न थालेको छ। केही नेताहरूले सहमहामन्त्रीको संख्या चारबाट बढाएर नौ पुर्‍याउनुपर्ने सुझाव दिएका छन्। त्यस्तै केन्द्रीय समितिको संख्या १३६ बाट बढाएर १५१ सदस्यीय बनाउनुपर्ने मत पनि आएको बताइएको छ।

नेताहरूका अनुसार नौ जना सहमहामन्त्रीमध्ये सात जनालाई सातवटै प्रदेशको जिम्मेवारी दिने, एक जनाले सभापतिलाई सहयोग गर्ने र अर्का एक जनाले संगठन विभाग हेर्ने गरी कार्यविभाजन गर्न सकिने विषयमा छलफल भइरहेको छ।

प्रस्तावित व्यवस्थाअनुसार तीन उपसभापतिमध्ये कम्तीमा एक जना महिला अनिवार्य रहनेछन्। पार्टी प्रवक्ताको नियुक्ति भने सभापतिले गर्ने व्यवस्था राखिएको छ। हाल रास्वपाको केन्द्रीय समिति १२९ सदस्यीय, पदाधिकारी संख्या नौ र सचिवालय १६ सदस्यीय रहेको छ।

पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक समूहसँग एकता प्रक्रिया अघि बढेपछि संगठनको आकार र प्रतिनिधित्व दुवै विस्तार गर्नुपर्ने आवश्यकता देखिएको पार्टी नेताहरूको भनाइ छ । विधान संशोधन कार्यदलका संयोजक विपिन आचार्यले विभिन्न समूहसँगको एकतापछि पार्टीको दायरा फराकिलो भएकाले संगठनात्मक संरचनामा पनि आवश्यक समायोजन गर्नुपर्ने बताएका छन्। उनका अनुसार कार्यदलले मस्यौदा केन्द्रीय समितिलाई बुझाइसकेको छ भने प्राप्त सुझावका आधारमा थप परिमार्जन गरिनेछ।

रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा प्रथम महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनअघि नयाँ विधान टुंग्याउने तयारी भइरहेको बताइएको छ ।