कोशीमा रास्वपाको अधिवेशन चुनावी प्रतिस्पर्धाभन्दा गुटगत प्रभावको बहसमा केन्द्रित

User Image Prime TV News एक घण्टा अगाडि
Image of कोशीमा रास्वपाको अधिवेशन चुनावी प्रतिस्पर्धाभन्दा गुटगत प्रभावको बहसमा केन्द्रित

मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश प्रथम अधिवेशनमा नेतृत्व चयनको मतदान सम्पन्न भए पनि चुनावी परिणामभन्दा गुटगत प्रभाव र प्यानल राजनीतिकाको विषय बढी चर्चामा आएको छ।

पार्टी केन्द्रले अधिवेशनमा प्यानल बनाउन नदिने स्पष्ट निर्देशन दिएको भए पनि मतदानका क्रममा विभिन्न उम्मेदवारको पक्षमा सूची वितरण गरिएको र संगठित रूपमा मत मागिएको आरोप उठेको छ। यसले पार्टीभित्र गुटबन्दीको सुरुआत भएको भन्दै केही नेताहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रदेश सभापति पदका लागि चार जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। मतदानका क्रममा केही सांसद तथा केन्द्रीय नेताहरू एक उम्मेदवारको पक्षमा खुलेर सक्रिय भएको आरोप लागेपछि अधिवेशनस्थलमा केहीबेर विवादको अवस्था समेत सिर्जना भएको थियो।

सभापतिका उम्मेदवार गोमा तामाङले मञ्चबाटै हस्तक्षेपकारी भूमिका नखेल्न सांसद र नेताहरूलाई आग्रह गर्दै संगठनभन्दा व्यक्तिलाई केन्द्रमा राख्ने गतिविधि स्वीकार्य नहुने चेतावनी दिएकी थिइन्। उनले स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्ने धारणा राखिन्।

यता, प्रतिनिधिसभा सदस्य गणेश कार्कीले पनि चुनावमा देखिएको समूहगत प्रचारप्रति असन्तुष्टि जनाएका छन्। उनले रास्वपाले नेता केन्द्रित होइन, नीति केन्द्रित राजनीति गर्नुपर्नेमा जोड दिँदै गुटीय अभ्यासले पार्टीको मौलिकता कमजोर बनाउन सक्ने बताएका छन्।

निर्वाचन समितिमा भने हालसम्म प्यानल वा गुटबन्दी सम्बन्धी कुनै औपचारिक उजुरी नपरेको बताइएको छ। पार्टीका नेताहरूले लोकतान्त्रिक प्रक्रियामा उम्मेदवारका पक्षमा मत माग्नु स्वाभाविक भए पनि त्यसलाई संस्थागत गुटबन्दीका रूपमा बुझ्न नहुने तर्क गरेका छन्।

कोशी प्रदेश अधिवेशनमा ७०२ मत खसेको छ। मतगणना बिहीबार हुने तय भएको छ। कुनै उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसके सभापति पदका लागि दोस्रो चरणको मतदान हुने व्यवस्था रहेको छ।

अधिवेशनको परिणामभन्दा पनि यस क्रममा देखिएको आन्तरिक शक्ति सन्तुलन र गुटगत गतिविधिले रास्वपाको आगामी संगठनात्मक दिशाबारे नयाँ बहस सुरु गराएको छ।