अविरल वर्षाले तीन जिल्लामा पहिरो: २२ जनाको मृत्यु, दर्जनौँ बेपत्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । लगातारको अविरल वर्षाले देशका विभिन्न स्थानमा पहिरो जाँदा तीन जिल्लामा गरी कम्तीमा २२ जनाको ज्यान गएको छ भने कैयौँ अझै बेपत्ता रहेका छन्। शनिबार र आइतबार परेको पहिरोले इलाम, रौतहट र उदयपुर जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, सबैभन्दा ठूलो क्षति इलाम जिल्लामा भएको हो। इलाममा मात्रै १८ जनाको मृत्यु भएको पुष्टि भएको छ। घटनास्थलबाट ६ जनालाई जीवितै उद्धार गरिएको छ भने अझै ७ जना बेपत्ता छन्।
त्यस्तै, रौतहट जिल्लामा पहिरोका कारण ३ जनाको ज्यान गएको छ। यता, उदयपुरमा एक जनाको मृत्यु भएको छ भने २१ जना अझै बेपत्ता रहेका छन्। उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ। सरकार तथा सुरक्षाकर्मीहरू पहिरोपीडित क्षेत्रमा उद्धार र राहत कार्यमा खटिएका छन्। स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने काम पनि तीव्र रूपमा भइरहेको छ।













