आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्ने अर्थमन्त्री वाग्लेको घोषणा

User Image Prime TV News २ घण्टा अगाडि
Image of आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्ने अर्थमन्त्री वाग्लेको घोषणा

काठमाडौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी नीतिगत निर्णयमा सूचना चुहावट गरेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप पुष्टि भए राजनीति मात्र नभई सार्वजनिक जीवन नै त्याग्न तयार रहेको उनले बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको लेखा समितिको बिहीबार बसेको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको दाबी गरे। उनले आफ्नो राजनीतिक तथा सार्वजनिक जीवन पारदर्शिता र नैतिकतामा आधारित रहेको उल्लेख गर्दै कुनै पनि आर्थिक अनियमिततामा संलग्न रहेको प्रमाण प्रस्तुत गर्न आग्रह गरे।

“दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,” उनले भने। आफूमाथि लगाइएका आरोपहरू तथ्य र प्रमाणमा आधारित नभएको जिकिर गर्दै उनले सार्वजनिक पदमा रहेका व्यक्तिमाथि आरोप लगाउँदा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने धारणा राखे।

पछिल्ला केही समययता विद्युतीय सवारीसाधनसँग सम्बन्धित कर तथा नीतिगत व्यवस्थाबारे विभिन्न आशंका र आरोप सार्वजनिक भइरहेका छन्। यसैबीच अर्थमन्त्री वाग्लेको यो अभिव्यक्तिले उक्त विषयलाई थप चर्चामा ल्याएको छ।

बैठकमा उनले आफ्नो नैतिक प्रतिबद्धता दोहोर्‍याउँदै प्रमाणसहित आरोप पुष्टि भए कुनै पनि पद वा राजनीतिक हैसियतमा नरहने स्पष्ट पारे।