स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । इरानले विश्वकै रणनीतिक तथा व्यस्त समुद्री व्यापारिक मार्गमध्ये एक स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व अर्थतन्त्रमा नयाँ चिन्ता थपिएको छ।
इरानी संयुक्त सैन्य कमान्ड र इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले जारी गरेको वक्तव्यमा हालै भएका अमेरिकी सैन्य आक्रमणको प्रतिक्रियास्वरूप उक्त कदम चालिएको जनाएको छ। इरानले जलमार्ग आफ्नो पूर्ण नियन्त्रणमा रहेको दाबी गर्दै कुनै पनि विदेशी जहाजले अनुमति बिना मार्ग प्रयोग गर्न खोजेमा कारबाही गरिने चेतावनी दिएको छ।
स्ट्रेट अफ हर्मुज फारसको खाडीलाई विश्व बजारसँग जोड्ने प्रमुख समुद्री मार्ग हो। विश्वभर आपूर्ति हुने ठूलो परिमाणको कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही मार्गबाट ढुवानी हुने भएकाले यसको अवस्थाले अन्तर्राष्ट्रिय ऊर्जा सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।
इरानको घोषणापछि अन्तर्राष्ट्रिय तेल बजारमा मूल्यवृद्धिको दबाब बढेको छ। ऊर्जा क्षेत्रका विश्लेषकहरूले जलमार्ग लामो समयसम्म बन्द रहेमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न सक्ने र त्यसले विश्वव्यापी महँगीलाई थप चर्काउन सक्ने बताएका छन्।
साउदी अरब, इराक, कुवेत, संयुक्त अरब इमिरेट्स र कतारजस्ता खाडी मुलुकहरू आफ्नो ऊर्जा निर्यातका लागि यो मार्गमा अत्यधिक निर्भर छन्। मार्ग अवरुद्ध हुँदा ती देशहरूको निर्यात प्रभावित हुने तथा विश्व आपूर्ति शृंखलामा अवरोध आउने सम्भावना बढेको छ।
भारत, चीन, जापान र दक्षिण कोरियाजस्ता ऊर्जा आयातमा निर्भर एसियाली राष्ट्रहरू सबैभन्दा बढी प्रभावित हुन सक्छन्। युरोपेली मुलुकहरूमा समेत इन्धन आपूर्तिमा दबाब बढ्ने आकलन गरिएको छ। नेपालमा पनि यसको अप्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।
पेट्रोलियम पदार्थका लागि भारतमा निर्भर नेपालले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यवृद्धिको असर भोग्नुपर्ने सम्भावना रहेको अर्थविद्हरू बताउँछन्। पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढेमा ढुवानी, उद्योग तथा कृषि क्षेत्रसमेत प्रभावित हुन सक्छन्।
यसैबीच, अन्तर्राष्ट्रिय समुदायले तनाव थप बढ्न नदिन कूटनीतिक संवादमार्फत समाधान खोज्न आग्रह गरिरहेको छ। मध्यपूर्वमा बढ्दो तनावले क्षेत्रीय सुरक्षा मात्र होइन, विश्व अर्थतन्त्रलाई समेत चुनौती दिने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ।







