कांग्रेस क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम दिन, आज मध्यरातिसम्म मात्रै समय
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले सञ्चालन गरिरहेको क्रियाशील सदस्यता अद्यावधिक अभियानको समयसीमा आज मध्यरातिसम्मका लागि मात्रै बाँकी रहेको छ।
पार्टीले सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्र सदस्यता अद्यावधिक गरिसक्न आग्रह गरेको छ। महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज राति १२ बजेसँगै अद्यावधिकको समयसीमा समाप्त हुने जानकारी दिँदै छुटेका सदस्यलाई तत्काल प्रक्रिया पूरा गर्न अपिल गरेका छन्।
पार्टीका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते साँझसम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन्। त्यसैगरी १ लाख २४ हजार ७४८ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी प्रक्रियामा सहभागी भइसकेका छन्।
महामन्त्री पौडेलले अन्तिम समयमा एकैपटक धेरै सदस्यले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले ढिला नगरी तत्काल सदस्यता अद्यावधिक गर्न आग्रह गरेका छन्। उनले पार्टीको वेबसाइटमार्फत प्रत्येक सदस्यले आफ्नै मोबाइल प्रयोग गरेर सहज रूपमा प्रक्रिया पूरा गर्न सक्ने बताए।
सदस्यता अद्यावधिकको प्रक्रिया थाहा नभएका सदस्यलाई वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर भए पनि समयमै विवरण अद्यावधिक गर्न कांग्रेसले अनुरोध गरेको छ।
नेपाली कांग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले अनलाइन प्रणालीमार्फत अद्यावधिक अभियान सञ्चालन गरिरहेको छ।
पार्टीका नेताहरूका अनुसार विगतमा अरूले फाराम भरिदिने प्रचलनका कारण सदस्यताको वास्तविक तथ्यांकमा प्रश्न उठ्ने गरेको थियो। अहिले भने सदस्य स्वयंले विवरण भर्नुपर्ने व्यवस्था गरिएकाले वास्तविक सदस्य संख्या र विवरण अभिलेखीकरण गर्न सहज हुने अपेक्षा गरिएको छ।
पार्टीले डिजिटल प्रणालीमार्फत सदस्यहरूको आधारभूत विवरण व्यवस्थित रूपमा अभिलेखीकरण हुने र भविष्यमा संगठन व्यवस्थापन थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ।







